काठमाडौं – नेपाली कांग्रेसले फागुन २१ गते हुने आमनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुनमा हुने निर्वाचनमा जाने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।
तीनपटक स्थगित भएर शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको विषयमा कुनै निर्णय गर्न सकेन । मंसिर ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले टुंगो लगाउने थापाले विश्वास व्यक्त गरे । ‘आजको केन्द्रीय समिति बैठकले चुनावमा जाने निर्णय गरेको छ । हाम्रो पार्टीको विषयमा विभिन्न शंका आशंका उब्जिएको र त्यसलाई निरुपण गर्न पनि चुनावमा जाने निर्णय गरेको हो,’ उनले भने ।
महामन्त्री थापाले आगामी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सक्ने बताए । उनले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक हुने विश्वास व्यक्त गर्दै नल्याए विशेष महाधिवेशनमा जार्नैपर्ने अवस्था आउने जानकारी दिए । ‘मंसिर ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले चुनावअघि नै नियमित महाधिवेशन गर्ने निर्णय गर्न सक्छ । चुनावपछि वैशाखमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन सक्छ । तर विशेष महाधिवेशनमा जान्न भन्ने गरी निर्णय गर्न सक्दैन । त्यसैले मंसिर अन्तिममा नियमित महाधिवेशन नभए पुसमा विशेष महाधिवेशन हुने निश्चित जस्तै छ । त्यसलाई हामीले रोकेर रोक्न सक्दैनौं,’ थापाले भने ।
कांग्रेसका देउवा पक्षका केन्द्रीय सदस्यहरू चुनावअघि नियमित र विशेष दुवै महाधिवेशन नगराउने पक्षमा छन् । तर इतर पक्ष भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताउँदै आएको छ ।














प्रतिक्रिया