ईश्वर पोखरेल र केपी ओलीबीच अध्यक्षमा भिडन्त पक्का


काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न ११औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले देशभरिका साथीहरुले गरेको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् ।

‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भनेका छन् ।

पोखरेलले पार्टीका नेता कार्यकर्ताहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न प्रतिबद्ध रहेको जनाएका छन् । साथै, उनलाई अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि अध्यक्ष केपी ओलीलाई नेतृत्व छाड्न आग्रह पनि गरेका छन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । पोखरेलले मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदै गरेको जानकारी गराउँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्र्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन आह्वानसमेत गरेका छन् ।

महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्ने उनले बताएका छन् । हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्न लागेको घोषणा गरेका थिए । उनले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न मागसमेत गरेका थिए । जवाफमा ओलीले स्वच्छ र प्रतिस्पर्धात्मक ढंगले चुनावमा जान आफू तयार रहेको जनाउँदै हारेमा माधव नेपाल र भीम रावलले जस्तो पार्टी नछाड्न चुनौती दिएका थिए ।

पोखरेललाई पाँच पदाधिकारीका साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बलियो समर्थन छ । भण्डारी आफैं सक्रिय राजनीतिमा आउन चाहेकी थिइन् । तर ओलीले सदस्यता नै नवीकरण गर्न रोक लगाएका थिए ।