महेश बस्नेतविरुद्ध धनगढीमा पनि प्रदर्शन, नेताहरू जहाँ जान्छन् त्यहीँ विरोध


काठमाडौं । पछिल्लो समय एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत युवाहरुको टार्गेटमा परेका छन् । उनका अभिव्यक्ति र भ्रष्ट नेताहरूलाई जोगाउन गरेको क्रियाकलापकै कारण बस्नेत जहाँ पुग्छन् त्यहीँ विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ ।

नेत बस्नेतविरुद्ध कैलालीको धनगढीमा पनि प्रदर्शन भएको छ । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन बिहान धनगढी पुगेका बस्नेतविरुद्ध स्थानीय जेनजी युवाले प्रदर्शन गरेका हुन् ।

उनीहरूले गुण्डुको ‘गुण्डुको गुण्डाः गो ब्याक’, ‘हत्याराको चेलो’, ‘हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यसअघि गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । जसकारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

मंसिर ७ मा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।

मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजीप्रति आक्रामक सुनिएका छन् । त्यसपश्चात नेता बस्ने जता गए त्यतै उनीविरुद्ध निरन्तर विरोध प्रदर्शन भइरहेका छन् । उनकै कारण अन्य दलका नेताहरुले पनि जनताको विरोधको सामना गर्नुपरेको छ । विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, खानेपानी समितिमा अहिले कांग्रेस, एमाले नेताहरुले पराजय बेहोरिरहेका छन् । यसले आगामी निर्वाचनमा जनताले मत परिवर्तन गर्ने सम्भावना देखिएको छ ।