काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औं महाधिवेशनको पूर्ण सफलतापको कामना गरेकी छन् । महाधिवेशन छनोटअघि भण्डारीले सन्देश दिँदै उनले सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने जनाएकी छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु,’ बिहीबार जारी सन्देशमा भनिएको छ ।
एमालेले मंसिर १३ गते एकैदिन देशभरि महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन गर्दैछ । सर्वसम्मत नहुने भएकाले यसपटक चुनावबाट प्रतिनिधि चयन गर्न लागिएको हो ।
‘महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो । विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ,’ उनले भनेकी छन् ।
भण्डारीले दुई वर्षअघि आफूले विधानसम्मत् सदस्यता नवीकरण गरिसके पनि अनुचित तरिकाले रोकेका कारण महाधिवेशनमा भौतिक उपस्थिति जनाउन नसकेको उनको दुखेसो छ । ‘मैले दुर्इ वर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,’ उनले भनेकी छन् ।














प्रतिक्रिया