रविको मुद्दाको सुनुवाइ आज पनि स्थगित, यस्तो छ कारण


काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
दुवैको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा परेको थियो । रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पनि पेसी परेकाले रविका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको थियो ।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल मगाउने आदेश दिएको थियो । मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि अघिल्लो बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो ।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रविले जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्चमा निवेदन दिएका थिए । त्यसपछि उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो भाग बराबर बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । उनले यसअघि जिल्ला अदालतमा पनि बिगो दाखिला गरेर सहकारी ठगी मुद्दाबाट छुटकारा दिन माग गरेका थिए । तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदन अस्वीकार गरेको थियो । रवि अहिले ललितपुरको नक्खु कारागारमा छन् ।