काठमाडौं । मधेश प्रदेशमा पहिलोपटक कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । यसअघि कांग्रेसका ६ वटै प्रदेशमा मुख्यमन्त्री बनिसकेका छन् । संघीयता कार्यान्वयन भएपछि पहिलोपटक कांग्रेसले मधेशमा सरकारको नेतृत्व पाएको छ ।
कांग्रेसनेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रवारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको हो ।
केहीबेरमा सात दलका नेताहरू प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए । सात दलमा कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी छन् । लोसपा नेता जितेन्द्र सोनलले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि बिहीबार सहमति जुट्न सकेको थिएन ।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् । केही समयमै नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ । मधेशमा पछिल्लो तीन महिनाभित्र चौथो सरकार बन्न लागेको हो ।














प्रतिक्रिया