आठौंपटक चुनाव लड्ने देउवाको दाउ, कांग्रेसका युवा निराश


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगे भेटपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सक्रिय राजनीतिको भोक ह्वात्तै बढेको छ । यसअघि सक्रिय राजनीतिबाट विश्राम लिएका देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए । तर पछिल्लो समय खड्का निवासमा होइन, महाराजगन्जमा बस्दै आएका देउवा निवासमा कांग्रेस नेता कार्यकर्ताको भीड बढ्न थालेको छ ।

हरेक दिनजसो अहिले देउवालाई नेता कार्यकर्तासँग भेटवार्ता गरेर फुर्सद नै हुँदैन । जेनजी आन्दोलनका बेला घरमै निर्घात कुटिएका देउवा दम्पती एक महिनासम्म छाउनी अस्पतालमा उपचार गराएर घर फर्केका थिए । त्यसको केही समयपछि सिंगापुर गएर १८ दिनसम्म स्वास्थ्योपचार गराए । सिंगापुरबाट फर्किएपछि भने उनमा पुरानै जोश देखिएको छ ।

नेताहरूका अनुसार अहिले कार्यवाहक सभापति खड्काले भनेको कसैले पनि सुन्दैनन् । विशेष कि नियमित महाधिवेशनको किचलो चल्दै गर्दा देउवाले आफू अब सभापतिमा नउठ्ने, किन मलाई विवादमा तानियो भनेर प्रश्न नगरेका होइनन् । तर अहिले उनलाई महाधिवेशनकै मञ्चमा लैजाने प्रयास भइरहेको छ । देउवाले पार्टी सभापति मात्र होइन, चुनाव पनि नलड्ने बताउँदै आएका थिए । तर अहिले आफू निकट नेताहरूलाई अन्तिम पटक डडेल्धुराबाटै लड्ने मनसाय व्यक्त गरेका छन् । उनको त्यो इच्छा र चाहना विस्तारै सार्वजनकि गर्न थालिएको छ ।

एक साताअघि आफूलाई भेट्न आएका कांग्रेस जिल्ला सभापतिहरूसँग देउवाले १५औं महाधिवेशनमा आफ्नो समूहबाट सभापतिको उम्मेदवार पूर्णबहादुर खड्का हुने बताएका थिए । जिल्ला सभापतिहरूले ‘सभापतिज्यू महाधिवेशनमा हाम्रो पक्षबाट सभापति को त ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले भने, ‘हाम्रो समूहबाट पूर्णबहादुर नै सभापतिको उम्मेदवार । समूह जोगाउनु पर्यो नि ।’ देउवाको जवाफ सुनेपछि केही जिल्ला सभापति निराश हुँदै फर्किएका थिए । केहीले भने देउवालाई विधान संशोधन गरेर भए पनि तेस्रो कार्यकाल सभापति लड्नुपर्ने सुझाव दिएका थिए ।

कांग्रेसमा अहिले फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिसको काम धमाधम भइरहेको छ । १६५ निर्वाचन क्षेत्रबाट एक वा एकभन्दा बढी सम्भावित उम्मेदवारको नाम केन्द्रलाई सिफारिस भइरहेको छ । डडेल्धुराबाट पनि क्षेत्रीय सभापतिले देउवालाई उम्मेदवार सिफारिस गर्ने कि नगर्ने भनेर सोधेका थिए । जवाफमा देउवाले ‘फेरि एकपटक डडेल्धुराबाटै चुनाव लड्छु’ भनेका थिए । त्यसपछि अहिले डडेल्धुराबाट देउवाका अलावा भीमप्रसाद साउद, नैनसिंह महरलगायतको नाम सिफारिस गरेर केन्द्रमा पठाउने तयारी भइरहेको डडेल्धुरा कांग्रेसका एक नेताले बताए ।

डडेल्धुरामा देउवा नउठेमा उनकी श्रीमती आरजु राणा देउवा, भीमप्रसाद साउद, नैनसिंह महर, प्रकाश देउवालगायतको नाम चर्चामा ल्याइएको थियो । तर देउवाले ‘अन्तिम पटक’ भन्दै इच्छा देखाएपछि अरुको सम्भावना सकिएको नेताहरू बताउँछन् । देउवाले डडेल्धुराबाट सातपटक चुनाव जितिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार भएको भेटमा देउवालाई ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ । तपाई प्रधानमन्त्री बन्न तयार हुनुहोस्’ भनेर कान भरेपछि भने अहिले उनी निकट नेता कार्यकर्ताले देउवा छैटौंपटक प्रधानमन्त्री बन्दै भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन् । देउवा निकट आठ पूर्वसांसद संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुग्नुको भित्री रहस्य ‘उधारो प्रधानमन्त्री’ को आश्वासन भएको कांग्रेस संस्थापन इतरका एक नेताले बताए ।