काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।
थापा सोही क्षेत्रबाट लगातार तीनपटक विजयी भइसकेका छन् । थापाको नाम विभिन्न जिल्लाबाट पनि सिफारिस भएको छ । सर्लाही ४, धनकुटा, रोल्पालगायतका निर्वाचन क्षेत्रमा थापाको नाम उम्मेदवारमा सिफारिस भइरहेको छ । तर महामन्त्री थापा भने काठमाडौं ४ बाटै उम्मेदवार बन्ने भएका छन् । थापाले सार्वजनिक रूपमै आफूले निर्वाचन क्षेत्र नफेर्ने बताइसकेका छन् । तर कांग्रेसका मतदाताले उनलाई आफ्ना जिल्लामा पनि उम्मेदवार बनेको देख्न चाहेका छन् ।
फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि कांग्रेस नेताहरु आआफ्नो क्षेत्रबाट सर्वसम्मतिबाट सिफारिस भएका छन्। पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुुसार मंगलबार क्षेत्रीय समितिहरूले निर्वाचनमा उम्मेदवारका लागि नेताहरूको नाम सिफारिस गरेका हुन्। प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत–१ बाट सिफारिस भएको छ।
गत निर्वाचनमा पनि सोही क्षेत्रबाट खड्का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। नेता डा. शेखर कोइराला मोरङ–६ बाट एकल सिफारिस भएका छन्। कोइराला पनि सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका थिए। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट एकल सिफारिस भएका छन् । उनी अघिल्लो चुनावमा पनि त्यहीँबाट विजयी भएका थिए ।














प्रतिक्रिया