बहुविवाह कसुरमा डिएसपी नेपाल पक्राउ, कान्छी श्रीमती फरार


काठमाडौं । बहुविवाह कसुरमा नेपाल प्रहरीका डिएसपी मधु नेपाल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार नियन्त्रणमा लिएको हो ।

हाल पूर्वी नवलपरासी कार्यरत डिएसपी नेपालविरुद्ध उनकी पत्नीले रुपन्देहीमा जाहेरी दिएको बताइएको छ । सोही जाहेरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डिएसपी नेपालले एक युवतीसँग बिहे गरेर लुकाएको पत्नीको आरोप छ । बुधबार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नेपाल विरूद्ध बहुविवाह गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए। हिरासतमा राखेर बहुविवाहबारे थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए। डिएसपी नेपालले विवाह गरेको भनिएकी कान्छी श्रीमतीको भने फरार छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।