महाधिवेशनको मिति धकेल्न आज कांग्रेस बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १५औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ ।

१५औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ । तर, क्रियाशील सदस्यता नटुंगेकोलगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरफेरको तयारी गरिएको नेताहरुको भनाइ छ ।

कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।