रास्वपाले समानुपातिक सूचीको धज्जी उडाएको तोसिमा कार्कीको आरोप


काठमाडौं । रास्वपा नेतृ डा.तोसिमा कार्कीले पार्टीले समानुपातिक सूचीको धज्जी उडाएको टिप्पणी गरेकी छन् । रास्वपाले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक बन्दसूचीमा आफन्त, मिस नेपाल, सेलिब्रिटी, खेलाडी, व्यापारीलाई राखेपछि पार्टीकै नेताहरूले विरोध गर्न थालेका हुन् । नेतृ कार्कीले रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडाउँदै पार्टीको पद र समानुपातिक सूचीमा बस्ने गरेको आरोप लगाएकी छन् । उनको संकेत सहमहामन्त्री विपिनकुमार आचार्यप्रति देखिन्छ ।

आचार्य प्राइमरी भोटिङमा निकै तल थिए । तर रास्वपाले बुझाएको सूचीमा खसआर्यतर्फ एक नम्बरमा राखिएका छन् । ‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधै पोजिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राइमरीको भोटिङमा होस् या इभालुएसनमा।

पार्टीको महाधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा । त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने। यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । रास्वपाको दलित कोटामा सबैभन्दा बढी भोट ल्याउने विजय जैरुको नाम काटेको छ । उसले दलितको एक नम्बर सूचीमा प्रकाश सपूतलाई राखेको छ ।

खसआर्यमा सबैभन्दा बढी भोट ल्याउने रमेश प्रसाईलाई पाँचौंमा धकेलिएको छ । तोसिमा मात्र होइन, केन्द्रीय सदस्य गणेश कार्कीले पनि पार्टीले समानुपातिक बन्दसूचीको धज्जी उडाएको आरोप लगाएका छन् । रास्वपाले परिवारवादमा पूर्णतः बन्देज लगाउने भनेको थियो । तर अघिल्लो कार्यकाल असिम शाह सांसद भएका थिए । अहिले भाइ आशिफ शाहलाई राखिएको छ । कार्कीले यो विषयलाई पार्टीले मिलाउने अपेक्षा गरेका छन् । जबकि असिम र आशिफकै सक्रियतामा रवि लामिछाने र बालेनबीच सहमति भएको थियो ।