काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि आधिकारिकता माग्दै देउवा पक्ष सर्वोच्च जान लागेको हो । पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो ।
निर्वाचन आयोगले थापा नेतृत्वलाई कांग्रेसको मान्यता दिएपछि देउवा समूहको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगबाट निरुपण भइसकेकाले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए ।
देउवा पक्षले कानुनी र राजनीतिक लडाइँ लड्ने भएको छ । आयोगले कांग्रेसको विधान र संविधान नटेकी निर्णय गरेको आरोप देउवा समूहका नेताको छ । देउवा पक्ष अदालतले आफूलाई न्याय गर्नेमा ढुक्क छ । सोही कारण अहिलेसम्म प्रत्यक्षको उम्मेदवारका विषयमा पनि देउवाका नेताले चासो देखाएका छैनन् । यदि सर्वोच्चले स्टे अर्डर दिएमा गगन थापा कांग्रेसको आधिकारिक सभापतिबाट हट्ने छन् ।












प्रतिक्रिया