काठमाडौँ । मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।
मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । योग्यता नपुगको उम्मेदवारविरुद्ध उजुरी दिने क्रम सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निदेशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दिन सकिने उनले बताए ।
कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरीकर्तालाई दिनुपर्छ । निर्वाचन कार्यक्रम बमोजिम निर्वाचन अधिकृतले उम्मेद्वारको बिरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गर्नुपर्ने छ ।
यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेद्वारले सो को सूचना पाएको मानिनेछ । आज दिउँसो ३ बजेदेखि यही माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिनेछ ।
माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रोलिंगी १ गरी ३४८६ को उम्मेद्वारी दर्ता भएको छ ।












प्रतिक्रिया