दागी नेतालाई टिकट नदिएपछि कांग्रेस फेरिएको अनुभव, गगन थापाको प्रयासले जित्यो सबैको मन


काठमाडौं । रुपान्तरित कांग्रेससहित जेनजी आन्दोलन निम्तिनुको दोष स्वीकारेका सभापति गगन थापा नेतृत्वले १६५ क्षेत्रमा पठाएका उम्मेदवारलाई लिएर अहिले चौतर्फी बहस सुरु भएको छ । १३१ नयाँ अनुहारलाई मौका दिइएको र ३६ जना मात्रै दोहोरिएपछि आँटे के सम्भव नहोला भन्ने भाष्य निर्माण भएको छ । थापाको यो कदमलाई केहीले शीर्षनेताको नजिक र हेभिवेट भएकै कारणले मात्रै टिकट वितरण गरिने शैली नै फेरिएको भनेका छन् ।

कतिले भने संगठन बनाएका नेतालाई चुनावी प्रतिस्पर्धामा बञ्चित गराउनु लोकतन्त्रविपरीत रहेकोसमेत टिप्पणी गरेका छन् । तर धेरैले पटकपटक अवसर पाएकालाई विश्राम दिएर नयाँलाई मौका दिएकोमा प्रशंसा गरेका छन् । विशेष महाधिवेशन एकताबाटै टुङ्ग्याउनेमा मेल नभएपछि सभापति थापा र शेरबहादुर देउवा पक्षबीच ६०–४० हुनेगरी उम्मेदवारी दर्तालाई लिएर सहकार्य भयो । तर थापाले देउवा पक्षबाट पठाइएको सूचीबाट आफूनिकट बन्न गएका र जित्न सक्नेलाई मात्रै उम्मेदवारी दिएको देउवा पक्षको गुनासो छ । देउवा पक्षबाट आएका धेरै नाम दागी भएकाले गगन थापाले तिनीहरूलाई यसपटक रोकेका हुन् ।

रमेश लेखक, आरजु राणा, रामहरि खतिवडा, दिपक खड्का, बालकृष्ण खाण, मोहनबहादुर बस्नेत, धनराज गुरुङसहितका नेता टिकटमा छुट्नुमा विभिन्न घटनामा दाग लागेकाले भएको कांग्रेस नेताहरू बताउँछन् । खड्का र गुरुङ्सहित कतिले टिकट अस्वीकार गरे भने कतिले चाहना राख्दा पनि टिकट पाएनन् । कोही भ्रष्टाचार र अनियमितताजस्ता गम्भीर प्रकरणमा मुछिएका नेता छन् । सोही कारण टिकट नदिइएको जनस्तरमा समेत चर्चा छ।

गगन नेतृत्वको कांग्रेसले दागी नेतालाई टिकट नदिएको निर्णयबारे सामाजिक सञ्जालमा पक्ष र विपक्ष दुबैमा जनविचार देखिन्छ । तर अधिकांश भने दागाी नेतालाई नदिएकै सही भन्नेमा छ । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गरी युवाहरु मारिएको मामिलामा गम्भीर प्रश्नबाट घेरिएका तत्कालीन गृहमन्त्री रमेश लेखक पनि टिकट पाउनबाट वन्चित भए । लेखकले २०५६, २०७०, २०७४ र २०७९ सालगरी चारपटक कञ्चनपुर–३ मा चुनाव लडेका थिए । काठमाडौं १ मा ०६४, ०७०, ०७४ र ०७९ गरी चार पटक चुनाव जितेका प्रकाशमान सिंह पनि चुनाव लड्न पाउने छैनन् ।

तत्कालीन सरकारमा उपप्रधान तथा सहरी विकासमन्त्री रहेका बेला सिंहले आफ्ना स्वर्गीय बाबु गणेशमान सिंहको नाममा ५७ करोडको अनुत्पादक बजेट छुट्याएर उनको अपमान गरेको भन्दै विवादित बनेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपेका बालकृष्ण खाँणले पनि यसपटक टिकट पाएनन् । रुपन्देही–३ बाट टिकट लिन खोजे पनि उनलाई कांग्रेसले टिकट दिएन । यसअघिको निर्वाचनमा १२ हजार मतान्तरले चुनाव जितेका मोहनबहादुर बस्नेत टेरामक्स प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका कारण उनी स्वतः उम्मेदवारको दौडबाट बाहिर थिए ।

तत्कालीन सरकारमा सबैभन्दा विवादित मन्त्रीको छवि बनाएका दीपक खड्का पनि यसपटक चुनाव लड्न नपाउने भएका छन् । ०७९ मा संखुवासभाबाट निर्वाचन जितेका खड्काले यसपटक टिकट नै पाएनन् । कुलमान घिसिङलाई चार महिनाअघि नै बर्खास्त गरेर उनको लोकप्रियता थपेको भन्दै खड्का टार्गेटमा परेका थिए ।

सहकारी ठगी प्रकरणमा मुछिएका तर तत्कालीन सरकारले जोगाएका अर्का विवादित नेता हुन् धनराज गुरुङ । गुरुङलाई पनि यसपटक टिकटबाट वन्चित गराइएको छ । ०७९ को निर्वाचनमा कांग्रेसका गुरुङले एमालेकी पद्मा अर्याललाई पराजित गरेका थिए ।