अमरेशको दबाबपछि बालेन सर्लाही ४ को गोडैता मात्रे पुगे, अन्यत्र भने गएनन्


काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह बालेनले सर्लाहीमा रोड शो गरेका छन् । बालेनको सचिवालयले उनी बुधबार लालबन्दी, हरिवन, नयाँ रोड हुँदै बरहथवा पुग्ने र फर्किएर रौतहट जाने कार्यक्रम तयार गरेको थियो । तर सर्लाही ४ का रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले आफ्नो निर्वाचन क्षेत्रमा नगए ‘आत्महत्या’ को धम्की दिएपछि बालेन लालबन्दी, नवलपुर, मलंगवा हुँदै गोडैता, हिरापुर, बरहथवा हुँदै नयाँरोड आएर हरिवन पुगेका थिए ।

त्यसपछि उनी फर्केर रौतहट पुगेका छन् । बालेन मधेशको चुनावी अभियानमा आउने भएपछि अमरेशले सर्लाही ४ मा ल्याएर कांग्रेस सभापति गगन थापालाई ‘देखाइदिने’ रणनीति अख्तियार गरेका थिए । तर बालेनले त्यस्तो रिस्क लिएनन् । बालेन र गगनको सम्बन्ध हार्दिक छ । दुवैबीचको सम्बन्धबारे धेरैलाई थाहा छैन ।

त्यही भएर बालेन सर्लाही ४ नटेक्ने अडानमा भए पनि अमरेशले आत्महत्याको धम्की दिएपछि गोडैतासम्म पुगेर हिरापुर, बरहथवा हुँदै नयाँरोड फर्केका थिए । हिरापुर, बरहथवा र नयाँरोड सर्लाही ३ मा पर्छ । जहाँ रास्वपाबाट नरेन्द्र साह, एमालेबाट हरि उप्रेती, कांग्रेसबाट विनोद खनाल र नेकपाबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् ।
बालेन सर्लाही ४ को गोडैताबाहेक अन्यत्र नगए पनि अहिले सामाजिक सञ्जालमा अमरेश र बालेनको रोड शो भनेर प्रचार गरिएको छ । बालेन सर्लाही ४ नआउने भएपछि रास्वपाका समर्थक बरहथवामा भेला भएका थिए । जहाँ बालेन गाडीमा उभिएर अभिवादन गरेका थिए ।

बालेनको सचिवालयले सार्वजनिक गरेको सेड्युलअनुसार बुधबार बिहान साढे ८ बजेतिर बालेन लालबन्दी आइपुगेका थिए। बालेनले लालबन्दीमा जीपबाट टाउको निकालेर घण्टी बजाएका थिए। तर उनी नवलपुरमा भने सार्वजनिक नै भएनन्। बालेनको स्वागत गर्न हरिवन बजारस्थित महेन्द्र राजमार्ग दायाँबायाँ बुधबार बिहानदेखि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्तासहित सर्वसाधारण बसेका थिए।