काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले भोट नदिए हुन्छ, तर आफूहरू काम माग्न आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा उनले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताए ।
उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन दाबीसमेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिए पनि कामको लिष्ट दिए हुने उनको भनाइ थियो ।
‘तपाईंहरूलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुसी लाग्यो । म धेरै बोल्ने मान्छे होइन ।। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो । काम दिनुस् है । तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनुस् । भोट नदिए पनि हुन्छ बरू, कामको लिष्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । हामी काम गरेर देखाउँछौँ,’ उनले भने ।
बालेनले विपन्नले शिक्षा र स्वास्थ्योपचार पाउनुपर्ने, विकास निर्माणका कामहरू तोकिएको समयमा बन्नुपर्ने नै रास्वपाको एजेन्डा रहेको बताए। ‘खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो,’ उनले भने।
दलका नेताहरूले फरक दलका मतदाताहरू बसेका ठाउँमा बाटो नै नबनाइदिने गरेको पनि उनले बताए। रास्वपा सरकारमा आए त्यसो नहुने उनको दाबी थियो । ‘बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ,’ बालेनले भने।












प्रतिक्रिया