दुर्गा प्रसाईको लाइनमा पूर्वराजा, चुनाव नगर्न माग


काठमाडौँ – देश चुनावमय भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने विपक्षमा देखिएका छन् । उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।

७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले मुलुकको विषम परिस्थितिमा र राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा राखेका छन् । शाहले मुलुकको अस्वाभाविक परिस्थिति र छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै, कुनै पनि व्यवस्थाको राम्रा पक्षहरू लिनुपर्ने र खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिएका छन् । ‘कुनै व्यवस्थाका राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ, जुन व्यवस्थामा नराम्रो र खराब पक्षहरू छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ,’ उनले भने । शाहले देशको भू(बनोट र समाजको प्रकृतिसँग मेल खाने व्यवस्थाले मात्र सकारात्मक परिणाम दिन सक्ने विचार राखे ।

प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि, वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । यतिबेलाको आमजनभावना चुनावभन्दा पहिले मुलुकका संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने छ । ‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने हो,’ शाहले भने, ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो।’

आर्थिक अस्थिरता र भ्रष्टाचारका विषयमा कडा प्रहार गर्दै उनले आलोपालो र भाग लगाएर खाऔँ भन्ने सोचले देशको समृद्धि सम्भव नभएको दाबी गरे । नागरिक बचाउ समूहका संयोजक दुर्गा प्रसाई पनि चुनावको विपक्षमा छन् । सोही कारण अहिले उनी हिरासतमा छन् ।