अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी सरकारलाई फिर्ता गरेका छन् । मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको हैसियतमा आफूले प्रयोग गर्दै आएको पासपोर्टको औचित्य समाप्त भएको भन्दै राहदानी विभागलाई फिर्ता गरेको जानकारी दिएका छन् ।

‘मलाई अर्थमन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइ‌एको कूटनीतिक राहदानी नम्बर डीए०००२७५० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राह‌दानी विभागमा फिर्ता बुझाइदिनु, राह‌दानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ खनालले लेखेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बनेका थिए । सरकारलाई फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट दिइएको थियो ।

निर्वाचन समाप्त भई नतिजासमेत प्रकाशन भइसकेको छ । चुनावमा रास्वपाले दुई तिहाइ बहुमत हासिल गरेर नयाँ सरकार बनाउने गृहकार्य थालेसँगै अर्थमन्त्री खनालले मन्त्रीका हैसियतमा प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेका हुन् । रास्वपाले खनाल वा गृहमन्त्री ओमप्रकाश अर्यालमध्ये एकलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरेको छ ।