नेपालमा पहिलो पटक विश्व प्लम्बिङ दिवस


काठमाडाैँ – नेपालमा पहिलो पटक नेपाल प्लम्बिङ संघ (NPA) ले बुधबार विश्व प्लम्बिङ दिवस एक कार्यक्रम आयोजना गरी मनाएको छ। यस अवसरमा प्लम्बिङ पेशासँग सम्बन्धित विशेषज्ञहरू र पानी तथा सरसफाइ क्षेत्रका अनुभवी व्यक्तिहरू एकत्रित भई जनचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

विश्वभर प्रत्येक वर्ष मार्च ११ मा मनाइने विश्व प्लम्बिङ दिवसलाई World Plumbing Council को नेतृत्वमा सन् २०१० देखि मनाउन थालिएको हो। यस दिवसले सुरक्षित खानेपानी, सरसफाइ तथा जनस्वास्थ्यको संरक्षणमा प्लम्बिङ प्रणालीको महत्वपूर्ण भूमिकाबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ ।
काठमाडाैँमा आयोजित कार्यक्रममा NPA उपाध्यक्ष भवानीशोर रञ्जितकारले स्वागत मन्तव्य राखे भने कार्यकारी सदस्य प्रकाश सिलवालले कार्यक्रमको उद्देश्य बताएका थिए । उद्घाटन कार्यक्रममा विभिन्न वरिष्ठ पेशाकर्मीहरू उपस्थित थिए। उद्घाटनपछि सहभागीहरूले शान्ति पदयात्रा आयोजना गरेका थिए।

कार्यक्रममा पानी तथा प्लम्बिङ क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका वरिष्ठ व्यक्तित्वहरूले नेपालमा व्यावसायिक प्लम्बिङ प्रणालीको विकास, दक्ष जनशक्ति निर्माण तथा जनस्वास्थ्य संरक्षणमा यसको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेपाल प्लम्बिङ संघका कोषाध्यक्ष सुरेश मास्केले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
समापन सत्रमा नेपाल प्लम्बिङ संघका अध्यक्ष दीपक सुनुवारले सम्बोधन गर्दै नेपालमा व्यावसायिक प्लम्बिङ प्रणालीको विकास, दक्ष जनशक्ति उत्पादन तथा सुरक्षित पानी र सरसफाइ प्रणालीको प्रवर्द्धनका लागि संघले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।