काठमाडौं – आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ।
गीतमा आफू बसेको स्थानभन्दा आफ्नो माया भएको ठाउँमा पुग्न चाहँदा पनि पुग्न नसक्ने भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ।
शान्ति ठटालको संगीत रहेको गीतमा निशु शर्माको स्वर समावेश छ भने शब्द मनबहादुर मुखियाले लेखेका हुन्। नेपाली श्रोतामाझ निकै लोकप्रिय रहेको यस गीतलाई नयाँ एरेन्जसहित पुनः प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
यस गीतको मौलिक गायिका स्वर्गीय अरुणा लामा हुन्। उनले करिब चार दशकअघि गाएकी यो गीत आज पनि उत्तिकै मर्मस्पर्शी मानिन्छ। निर्माण टिमले गीतलाई अरुणा लामाप्रति समर्पित गरेको जनाएको छ। गीतको म्युजिक एरेन्ज विनोद भुजेलले गरेका छन्।
गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ।
‘परालको आगो’ नाममा यसअघि करिब ४५ वर्षअघि पनि फिल्म निर्माण भएको थियो।













प्रतिक्रिया