काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।
‘फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने ।
निर्वाचन आयोगले प्रतिवेदन पेस गरेसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ । अब राष्ट्रपति पौडेलले बहुमत प्राप्त रास्वपा संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बालेन्द्र साह बालेन नियुक्त हुने छन् ।













प्रतिक्रिया