रास्वपा नेताहरूलाई महँगा होटेल नै प्यारो


काठमाडौं । फागुन २१ को निर्वाचनपछि १८२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको रास्वपा नयाँ सरकार निर्माणमा जुटेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिएर जनमत बटुलेको रास्वपाका नेताहरूमा भने पाँचतारे होटेल मोह देखिएको छ ।

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रम उसले ग्वार्कोस्थित होटेल रोयल टुलिपमा गरियो । विवादास्पद व्यवसायी राजेन्द्र शाक्यको लगानी रहेको होटेलमा अभिमुखीकरण कार्यक्रम राखेपछि रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन कार्यक्रममै गएनन् । रास्वपाले अभिमुखीकरण कार्यक्रमका लागि मात्र दुई करोड खर्च गरेको नेताहरुको भनाइ छ ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह त एक सातादेखि दरबारमार्गस्थित रोयल सिंगे होटेलमा बस्दै आएका छन् । उनले सुरक्षाका कारण भन्दै महँगो होटेल रोजेका हुन् । रास्वपाको पार्टी सभापति रवि लामिछाने हुन् । प्रधानमन्त्रीका उम्मेदवार बालेनले सभापतिलाई भेट्न रविको घरमा जानुपर्ने हो। तर रवि लामिछाने नै होटल–होटलमा बालेनलाई खोज्दै हिँड्नुपरेको देखियो।

हुनेवाला प्रधानमन्त्री पार्टी कार्यालय गएका छैनन् । सरकार गठनको सल्लाह पार्टी कार्यालयमा नभ्ई राृेयल सिंगे होटलमा भएको छ । उपसभापति स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिँदै बालेनसहितको तस्वीर सार्वजनिक गरेका हुन् ।

निर्वाचन आयोगले आज समानुपातिकतर्फका सांसदहरूलाई विजयी प्रमाणपत्र प्रदान गरीवरी निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । दुई तिहाइ हाराहारी बहुमत पाएको रास्वपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको तयारी छ । रास्वपाले भने अहिलेसम्म दलको नेता चयनका लागि विधान संशोधन प्रक्रिया अघि बढाइसकेको छैन । तर चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने सार्वजनिक भइसकेको छ । रामनवमीको दिन पारेर बालेनले प्रधानमन्त्रीको शपथ लिन लागेका हुन् ।