काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको दुई साता नबित्दै रास्वपाका एक सांसदले नियुक्ति र जागिर चाहियो भन्दै नआउन उर्दी जारी गरेका छन् । निर्वाचनअघि मतदातालाई विभिन्न प्रलोभन र आश्वासन दिएर मत बटुल्दै अर्घाखाँचीबाट चुनाव जितेका सांसद हरिप्रसाद भुसालले आफूलाई नियुक्ति वा जागिरका लागि अनुरोध नगर्न अपिल गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले आफूलाई विजयी गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै अब जिम्मेवारी पूरा गर्न दिन आग्रह गरेका छन् ।
‘काठमाडौं जुरुक्क नउठेको भए, पेसा, व्यवसाय, पढाइलाई थाँती राखेर घरघर नपुग्नुभएको भए, कतिपय अवस्थामा उम्मेदवार नचिने पनि घण्टीको पक्षमा कम्मर नकस्नुभएको भए, सम्भवतः यो परिणाम नआउन पनि सक्थ्यो’, भुसालले लेखेका छन्, ‘मलाई जिताउनको लागि यहाँहरूको त्याग, समर्पण, विश्वास र मेहनतको लागि धेरै–धरै धन्यवाद ।’
तर, अब नियुक्ति वा जागिरका लागि अनुरोध नगर्न उनले भनेका छन् । सांसद जिताउन भन्दै हिजो गरेका काम अब नसम्झिन पनि उनले आग्रह गरेका छन् । ‘तँलाई जिताउन कम्मर कसेर लागेँ अब मलाई फलानो नियुक्ति चाहिन्छ भन्नुभएन भने, तलाई जिताउन व्यवसाय धरापमा पारेँ, जागिर धरापमा पारेँ, पढाइ अलपत्र पारेँ अब मलाई फलानो ठाउँमा सेट गर्नुपर्छ भन्नुभएन भने, रातदिन पानी नखाइ खटेँ, मलाई अब जागिर दिनुपर्छ, फलानो आफन्तलाई जागिर दिनुपर्छ भन्नुभएन भने, मेरो कार्यकाल पनि सफल हुनेछ’, भुसालले लेखेका छन् ।
भुसाल मात्र होइन, रास्वपाका धेरै सांसद अहिलेदेखि नै विकास र जनताका समस्या समाधान गर्ने आफ्नो दायित्व नभई राज्यको भन्दै आफूहरू कानुन बनाउन आएको भन्न थालेका छन् ।













प्रतिक्रिया