काठमाडौं । रास्वपा सांसद एवं गोल्डस्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणा कूटनीतिक नियोगको कारमा रातो नम्बर प्लेट परिवर्तन गरेका कारण विवादमा तानिएकी छन् । उनीसँग करिब डेढ करोड बढी पर्ने टेस्लाको मोडेल ३ कार छ । तर, त्यसमा लाग्ने नम्बर प्लेट भने फरक फरक दुईवटा छ ।
विदुषीको गाडीको रातो नम्बर प्लेट बागमती प्रदेश ०१ ०२७ च १११ हो । तर, एक वर्षअघि उनको त्यही गाडीको नम्बर प्लेट निलो (कूटनीतिक) थियो ३८५ एचसीसी १ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा स्पष्ट लेखिएको छ, कुनै पनि सवारीसाधन जुन प्रयोजनका लागि दर्ता भएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्छ । एउटै सवारी साधन दुई फरक वर्ग .कूटनीतिक र निजी) मा एकैसाथ दर्ता हुन सक्दैन । तर, उनको टेस्ला भने दुई फरक वर्गमा एकैसाथ दर्ता भएको हो कि भन्ने देखिन्छ ।
कोभिडकालमा व्यापारी सुलभ अग्रवालले निलो नम्बर प्लेटको गाडीमा तस्करी गरिएको थर्मल गन बेच्न हिँड्दा जेल गएका बेला सरकारले निर्णय नै गरेर अवैतनिक दूतहरूको कूटनीतिक नम्बर प्लेट र झन्डा खोसेको थियो । यो निर्णय कोभिड शुरू भएलगत्तै २०७६ चैत २७ गते आएको थियो । त्यसको पाँच वर्षपछि विदुषी आइसल्याण्डकी अवैतानिक दूत बनेकी थिइन् ।
खासमा निलो नम्बर प्लेटको गाडीमा ल्याएका सामान खानतलासी गर्न पाइँदैन । कूटनीतिक सञ्चालनसम्बन्धी भियना महासन्धिमा उल्लेखित कूटनीतिक उन्मुक्तिको प्रावधानअनुसार नीलो नम्बर प्लेटका गाडीहरूमा सम्बन्धित देशका सुरक्षा निकायले चेकजाँच गर्न पाउँदैन ।
विदुषीलगायतले सरकारको निर्णयविपरित यसरी एउटै गाडीमा आवश्यकताअनुसार फरक फरक नम्बर प्लेट झुन्ड्याएर हिंड्न थालेपछि सुशीला कार्की सरकारले गत असोज २४ गते अवैतनिक कन्सल जनरल कन्सुलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९ नै परिवर्तन गरेर कानूनी रूपमै फिर्ता लिन बाध्य भएको छ।
केही महिनाअघिसम्म अवैतनिक दूत रहेकी राणाले अहिले राजीनामा दिएर सांसदको नियुक्ति लिएकी छन्। सरकारले ५१ देशमा गरेको अवैतनिक दूत नियुक्तिमा अधिकांश ठूला व्यापारीहरू नै छन्। खासमा यो पद व्यापारीहरूको सहजताका लागि खडा गरिएको देखिएको छ ।













प्रतिक्रिया