काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको छ ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध परेको रिटमा यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो ।
आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेपछि आजबाट पुनः सुनुवाइ हुन लागेको हो ।
महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल र कानुनका विद्यार्थी आयुष बडालले रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो टिप्पणी र आदेशमा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो । त्यसको चौतर्फी विरोधसँगै जिल्ला अदालतहरू एकजनाको मात्रै मुद्दा हटाउन नमिल्ने भनेपछि महान्यायाधिवक्ता भण्डारीले जीबी राई र छविलाल जोशीको मुद्दा पनि फिर्ता लिने निर्णय गरेकी थिइन् ।













प्रतिक्रिया