नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार, क–कसले बाजी मार्लान् ?


काठमाडौँ । फागुन २१ को निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी गृहकार्यमै छ । अहिलेसम्म रास्वपाले कुनै मन्त्रीको टुंगो लगाएको छैन । केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ ।

मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् । युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्यसम्पादनको पर्खाइमा छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए । उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ ।

मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए । जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ । नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ । जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय थियो । भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने संघर्षमै रहेको छ । मन्त्रालयको आधा कार्य कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ ।

यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताइन् । उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताइन् । नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनको भनाइ छ ।