भत्काउन थालियो देउवा निवास


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउन थालिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका क्रममा आगजनी गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको घर भत्काउन थालिएको हो । पहिलेको घरमा रेट्रोफिटिङ गरी देउवा एक वर्षअघि मात्र सो घरमा सरेका थिए ।

तर जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी मात्र गरिएन, लुटपाटसमेत गरियो । देउवा र उनकी श्रीमती आरजु राणा देउवामाथि सांघातिक आक्रमण भयो । ६ महिना बितिसक्दा पनि देउवा दम्पती पूर्ण स्वस्थ भएका छैनन् ।

दुवैजना हाल हङकङमा छन् । एक महिनाअघि सिंगापुर उडेका देउवा उपचार सकेपछि हङकङ गएका हुन् । सम्भवतः यही साता देउवा दम्पती स्वदेश फर्किंदैछन् । उनीहरु आउनुअघि नै घर भत्काइसक्ने बताइन्छ । देउवाले अब बुढानिलकण्ठमा नयाँ घर नबनाउने, जग्गा भने बेच्ने तयारी गरेका छन् ।