बालेन सरकार देखि संसद्सम्म सबै सिंहदरबारभित्रै


काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

२०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् (ग्यालरी बैठक) भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । संविधानसभाअघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो ।

राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रुपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ । संसद् सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक पाँच करोड ६० लाख तिर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक १६ करोड ५० लाख पुगेको थियो । सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगैंचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताउनुभयो ।

जेनजी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रुपमा उक्त सम्झौता रद्द गरेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको छ । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउने कार्यक्रम तय भएको छ ।

ज्येष्ठ सदस्य केसीले चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरुलाई नयाँ संसद् भवनमा शपथ गराउने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । यसपटकदेखि अब कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै सिंहदरबारभित्रै हुने भएको छ । हाल सर्वोच्च अदालत रामशाहपथमा भए पनि केही महिनाभित्रै सिंहदरबारभित्र सर्ने भएको छ । जेनजी आन्दोलनका बेला सर्वोच्चमा आगजनी गरेर ध्वस्त गरिएको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्दैछन् । उनी कार्यपालिका प्रमुख हुनेछन् । नयाँ संसद् भवन पनि सिंहदरबारमै बनेकाले अब व्यवस्थापिका पनि मुलुकको प्रमुख प्रशासनिक केन्द्रभित्रै हुनेछ ।