काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतारमा राजीनामा नदिएको बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि केही प्राविधिक कारणले आफू रोकिएको सभापति थापाले बताए । ‘मैले हतारोमा राजीनामा दिएको होइन, हताश भएर राजीनामा दिएको पनि होइन ।
विशेष महाधिवेशन नगरी हामी फागुन २१ को निर्वाचनमा गएका थियौँ भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने चुनाव जितेका १८ जना र पराजित हुनेलाई जानकारी छ ।’ बैठकमा सम्बोधन गर्दै उनले घुमाउरो तरिकाले आफ्नै पार्टी नेताहरुप्रति अनुमान नलगाउन चेतावनी पनि दिए । ‘मत माग्न वा हाल्न नजानेले अनुमान लगाउन सक्नुहुन्न,’ थापाले भने, ‘विशेष महाधिवेशन गरेर कमजोरी पो गर्यौँ कि भन्ने अलमलिएर यो निर्णयमा पुगेको होइन ।’ कांग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशनबारे निर्णय लिन सक्नेसमेत बताइएको छ ।
कांग्रेसले आगामी भदौ वा असोजसम्म १५औँ महाधिवेशन गर्ने तयारी छ । यसअघि शुक्रवार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो । बैठकको नेतृत्व गर्दै उनले केन्द्रीय कार्यसमितिको बैठकको गरेको निर्णय ठीक कि बेठीक भनेर भन्ने बेला नभएको जिकिर गरे। ‘केन्द्रीय कार्यसमितिले जे ठिक ठान्यो, त्यही निर्णय गर्यो,’ उनले भने। यसबारे अब केन्द्रीय महाधिवेशनमा छलफल हुने उनको भनाइ छ। केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताउँदै थापाले भने, ‘मैले केन्द्रीय कार्यसमितिको निर्णय सम्मान गर्नुपर्छ।’













प्रतिक्रिया