राष्ट्रपतिसँग आज शपथ लिँदै अर्जुननरसिंह केसी, भोलि बालेनलाई खुवाउने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ७८ वर्षका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । त्यसपछि प्रतिनिधिसभामा बहुमत दल रास्वपा संसदीय दलका नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री नियुक्त हुनेछन् । उनले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् । यसरी लगातार तीन दिन शपथ कार्यक्रम चल्ने भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक चैत १६ गते आह्वान गरिने भएको छ । प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ । सबैभन्दा ठूलो दल रास्वपाले सभामुखमा डिपी अर्याल र प्रतिभा रावलमध्ये एकलाई बनाउने भएको छ । यदि बालेन र रवि लामिछानेबीच कुरा मिलेमा डिपीलाई गृहमन्त्री बनाउने सम्भावना रहेको बताइन्छ ।