काठमाडौं । ठमेलमा यौनधन्धा चलाउने २० जना युगान्डेली महिला पक्राउ परेका छन् । प्रहरीले अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलस्थित सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पु¥याउने, पैसामा बार्गेनिङ गरी यौनधन्धा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित सार्वजनिक सडक खण्डमा निगरानी गर्ने क्रममा युगाण्डाका ती महिलाहरूले बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ । हाल उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन भट्टराईले जानकारी दिए । पछिल्लो समय नेपालमा विदेशी महिला यस्ता गतिविधिमा सलंग्न रहेको प्रहरीले जनाएको छ । अधिकांश अफ्रिकन महिला फेला परेका छन् ।













प्रतिक्रिया