बालेनको शपथ साइतलाई अर्थमन्त्री खनालको प्रहार


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले शुक्रबार लिन लागेको प्रधानमन्त्रीको शुभसाइतको समयलाई लिएर असन्तुष्टि जनाएका छन् । उनले साइत देखाएर शपथग्रहण गर्ने परम्परा कत्ति पनि मन नपरेको उल्लेख गरेका छन् । आफूहरूले साइत नै नहेराइकन पनि इतिहासकै कठिन समयमा इतिहासकै निष्पक्ष निर्वाचन गरेको स्मरण गराएका छन् । ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ।

हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलोपटक स्वच्छ निर्वाचन सम्पन्न भयो त,’ अर्थमन्त्री खनालले शुत्रबार सामाजिक सञ्जालमा लेखेका छन् । बालेनले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शप लिने समाचार बाहिरिएपछि खनाल असन्तुष्ट बनेका हुन् ।

बालेनको शपथका बेला बौद्ध गुरु, बटुक, ब्रह्माणले शंख बजाउने भन्दै साइतको सूची सार्वजनिक भएको छ । खनाल अहिले कामचलाउ अर्थमन्त्री मात्र हुन् । उनले मन्त्रालयको दैनिक काम नगर्ने भनेर अलग भइसकेका छन् । नयाँ मन्त्रीले शपथ नलिएसम्म खनाल अर्थमन्त्रीमा बहाल रहनेछन् । शुक्रबारदेखि उनको पद औपचारिक रूपमा सकिनेछन् । खनाल भदौको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा थिए । उनी ६ महिना पदमा रहँदा एक दुईवटाबाहेक खासै विवादमा तानिएनन् ।