काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका बेला नक्खु कारागार ब्रेक गरेको घटना भारी पर्न सक्ने देखिएको छ । गौरीबहादुर कार्की संयोजकत्वको जाँचुबुझा आयोगको प्रतिवेदनले समेत देशभरका कारागार फोड्नुमा रविकै सिको भएको प्रमाणित गरेको छ ।
बुधबार मिडियाहरूमा सार्वजनिक आयोगको प्रतिवेदनमा त्यसबारे उल्लेख छ । रवि जेलबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रमण भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार आधिकारिक पत्र लिएर रवि जेन–जी विद्रोहका क्रममा नख्खु जेलबाट निस्किएका हुन् ।
‘भदौ २४ गते रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नक्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त भिडले कारागारमाआक्रमण गर्ने डरत्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठाभित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक–पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे भन्ने जेलरको आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन ।’
रविलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ । ‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘रवि लामिछाने बाहिर निस्किएको केही समयपछि ठूलो भिड आई जेलमा आक्रमण गरी कैदीहरूलाई बाहिर निकाल्ने कार्य भएको देखिन्छ । यो समाचार सामाजिक सञ्जालमा प्रेषित भएपछि काठमाडौंलगायत देशका अन्य भागमा पनि जेल आक्रमणको सिलसिला सुरु भयो । नख्खु कारागारको घटनापछि अन्य ठाउँहरूमा पनि जेल तोडफोड गर्ने, आगजनी गर्ने र कैदीबन्दी भगाउने तथा कैदीबन्दी आफैँ भाग्ने कार्य भएको संकलित प्रमाणबाट देखिन्छ ।’ रवि जेलबाट बाहिर निस्केपछि सोही रात देशभरका कारागारबाट १५ हजार कैदीबन्दी फरार भएका थिए । जसमध्ये अझै पाँच हजार बाहिर छन् ।
ललितपुरस्थित कारागार कार्यालय नख्खुका जेलर सत्यराम जोशीले आयोगसँगको बयानमा सहकारी ठगी मुद्दामा नौ महिनादेखि थुनिएका रवि भदौ २४ गते नख्खु कारागार तोडेर भागेको बयान दिएका छन् । उनले भदौ २३ गते बेलुकादेखि नै कारागारका कैदीहरूले नाराबाजी र हुलहुज्जत गर्न थालेको उल्लेख गरेका छन् ।
‘भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी गर्ने ढुंगामुढा गर्ने कार्य गर्न थालेपछि भित्रसमेत कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे’, उनले बयानमा भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालयमा समेत ठूलो समूहले आगजनी तोडफोड गर्ने कार्य गरिरहेको हुँदा थप सुरक्षाकर्मीसमेत आउन सक्ने अवस्था थिएन।’
जेलर जोशीले काठमाडौंको डिल्लीबजारसहितका जेलबाट कैदी थुनुवा भागेको भन्ने सूचना टेलिभिजनलगायतमा त्यसबेला फैलिएको बताएका छन् । ‘रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरूसमेत भाग्न भगाउन थालियो’, उनले भनेका छन्, ६६७ जना कैदी(थुनुवा भागेका छन्। जसमध्ये ४०९ जना पुनः आइसकेका छन्। त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ।’













प्रतिक्रिया