रास्वपाले बालेनलाई आज दलको नेता चयन गर्ने, भोलि प्रधानमन्त्री नियुक्त हुने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बिहीबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ । पार्टीका वरिष्ठ नेता बालेन्द्र साहबालेनलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले बताए । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । रास्वपाले बालेनलाई शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ । अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ ।

केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ ।

त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपा सांसद सस्मित पोखरेलले केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिम अन्तिम हुने बताए । उनका अनुसार मन्त्रालयहरूको पुनर्संरचना, मर्जर र संख्या घटाउने विषयमा छलफल जारी छ ।