अदालतको आदेश नआए पनि रविलाई सांसदको शपथ खुवाउने तयारी


काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ बिहीबार लिँदैछन्। शपथका लागि सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसकेका छन् । उनले आज २७४ सांसदलाई शपथ खुवाउन लागेका हुन् ।

नयाँ सभामुख चयन नभएसम्म केसीले नै संसद् बैठक सञ्चालन गर्ने छन् । २७४ मध्ये दुई सांसदको शपथ के होला भन्ने जिज्ञासा देखिएको छ । जसमा चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र मनाङबाट निर्वाचित टेकप्रसाद गुरुङ छन् । दुवैजना अघिल्लो संसदको कार्यकालमा निलम्बित थिए ।

रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा दर्ता भएकाले उनको सांसद पद निलम्बनमा परेको थियो । कांग्रेस सांसद गुरुङको भने भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लिँदा भ्रष्टाचारमा मुछिएका थिए । गुरुङलाई अदालतले सफाइ दिइसकेको छ । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्चमा पुनरावेदनमा गएको छ । रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगिठत अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध अहिले सर्वोच्च अदालतमा बहस जारी छ ।

यसबारे न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ जारी छ । हेर्दाहेर्दैमा राखेर मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ । आज पनि रविको मुद्दामा सुनुवाइ हुँदैछ । यदि सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय सदर गरेमा रविलाई सांसदको शपथ लिन बाटो खुला हुन्छ ।

नदिए शपथ लिन नमिल्ने कानुन व्यवसायीहरुको तर्क छ । तर संसद् सचिवालयले भने रविलाई सांसदको शपथ खुवाउने तयारी गरेको छ । शपथ खुवाउने र अदालतले आदेश नदिएमा स्वतः निलम्बनमा पर्ने बताइन्छ । विगतमा सभामुख कृष्णबहादुर महराले रेशम चौधरीलाई कारागारमै रहेका बेला संसदमा ल्याएर शपथ खुवाएका थिए । लगत्तै उनलाई कारागार पठाइएको थियो । उनले एक दिन पनि संसद् प्रवेश गर्न पाएनन् । तर रविलाई भने सांसदको शपथ खुवाउने तयारी अन्तिम चरणमा पुगेको छ ।