पूर्वगृहमन्त्री लेखकलाई जिल्ला अदालतमा गराइयो उपस्थित, ओलीलाई पनि ल्याइँदै


काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार बिहान अदालत उपस्थित गराइएको हो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार बिहान लेखक र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्राउ परेका थिए । ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ । हाल उनी टिचिङ अस्पताल भर्ना भएका छन् । लेखकलाई भने महाराजगन्जस्थित २ नम्बर प्रहरी कार्यालयमा राखिएको छ ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा ७६ जनाको मृत्यु भएको थियो । घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई फौजदारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।