ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग


रमेश लेखकलाई उपस्थित गराइयो, ओली स्वास्थ्यका कारण अस्पतालमै

काठमाडौं । प्रहरीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको छ । प्रहरीले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कारणसमेत खुलाएर जिल्ला अदालतमा म्याद थपको माग गरेको हो। प्रहरीले ओली र लेखकविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

म्याद लिनका लागि आरोपीलाई समेत उपस्थित गराउनुपर्ने हुन्छ। अस्पताल भर्ना भएकाले ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउने भएको छ। उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता लेखकलाई अदालतमै उपस्थित गराइएको छ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले थुनामा राख्न म्याद दिने–नदिने निर्णय गर्नेछ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरेको थियो । जरुरी पक्राउ पुर्जी दिएर ओली र लेखकलाई पक्राउ गरिएपछि चौतर्फी विरोध हुँदै आएको छ । सरकारले प्रतिशोध साधेको आरोप लागेको छ । गौरीबहादुर कार्की अध्यक्षताको जाँचुबझ आयोगले उनीहरूलाई १० वर्षसम्म कैद हुने गरी लापरबाहीपूर्ण ज्यान मारेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।