उत्तरबाट आयो बालेनलाई दलाई लामा सरकारका प्रधानमन्त्रीको बधाई, चीन तरंगित


काठमाडौं । प्रधानमन्त्ती बालेन्द्र शाह बालेनलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामा सरकारका प्रधानमन्त्री सिक्योङ पेन्पा छिरिङले बधाई तथा शुभकामना दिएका छन् । बालेनलाई दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले बधाई दिएका हुन् ।

पेन्पा छिरिङले आफ्नो बधाई पत्रमा लेखेका छन्, ‘हालैको जेन–जी नेतृत्वको आन्दोलनपछि तपाईं नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको, विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।’ नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख गर्दै उनले नेपालमा बस्दै आएका तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनेका छन् ।

मुख्य प्रशासक पेन्पाले तिब्बती भूभाग जबर्जस्ती चीनले अधिग्रहण गरिएको आरोप लगाएका छन् । ‘तिब्बतको जबर्जस्ती अधिग्रहणपछि तिब्बती समुदायले नेपालमा शरण पाएका थिए । आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक र आर्थिक जीवनमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन् ।

यो सम्भव भएको नेपाल सरकार र जनताको उदारताका कारण हो,जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ,’ उनले लेखेका छन् । पेन्पेले बालेनलाई बधाई स्वीकार्न आग्रह गर्दै सफल नेतृत्वका लागि शुभकामना दिएका छन् । ‘तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता अझ सुदृढ हुने आशा छ,’ उनले लेखेका छन् ।

तिब्बती धार्मिक समूहले नेपालका प्रधानमन्त्रीलाई दिएको शुभकामनामा ‘हाम्रा जनताबीचको मित्रता’ भनेर उल्लेख गरेपछि चीनमा तरंग पैदा भएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाको शुभकामना सन्देश आएको थियो । त्यहीबेलादेखि चीन नेपाल सरकारसँग असन्तुष्ट बनेको हो । जेनजी आन्दोलनमा तिब्बतीयन ग्रुपको घुसपैठ भएको चर्चा हुनु र तारन्तार दलाई लामाको तर्फबाट शुभकामना सन्देश आउन थालेपछि उत्तरी छिमेकी रुष्ट बनेको छ ।