ओली र लेखकको मुद्दाको सुनुवाइ हुँदै, के आउला आदेश ?


काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुँदैछ । ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेल र लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ । ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन् ।

लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन् । दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई थुनामै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिसकेको छ । स्वास्थ्य अवस्था जटिल भएका कारण ओली टिचिङ अस्पतालमा भर्ना भएका छन् । लेखकलाई भने महाराजगन्जस्थित २ नम्बर प्रहरी गणमा राखिएको छ । यदि सर्वोच्चले आज बाहिरै रहेर कानुनी लडाइँ लड्न आदेश दिएमा दुवैजना रिहा हुनेछन् ।