काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले राजनीतिक सल्लाहकार असिम शाहलाई संविधान संशोधन कार्यदलको संयोजक बनाएपछि यसको चौतर्फी विरोध भइरहेको छ । फिल्मकर्मी हुनुबाहेक असिमसँग त्यस्तो कुनै योग्यता छैन । तर पनि बालेनले किन यस्तो खेलाँची गरेका हुन् भन्ने सर्वसाधारणमा जिज्ञासा उत्पन्न भएको छ । के संविधान संशोधन खेलाँचीको विषय हो ? भन्दै प्रश्नसमेत उब्जेको छ ।
असिम अघिल्लो तीन वर्ष रास्वपाको तर्फबाट समानुपातिक सांसद बनेका थिए । त्यसबाहेक उनीसँग प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार हुनुबाहेक अर्को कुनै योग्यता छैन । २०७९ को संसदमा उनले मोबाइलबाट स्क्रिप्ट पढ्नेबाहेक एउटा पनि महत्वपूर्ण कुरा उठाएको जनताले थाहा पाएका छैनन् ।
रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच एकता गराउने कार्यमा शाहको भूमिका निर्णायक रहेको र उनले आफ्नै घरमा बालेन्द्र र रविबीच ६ घण्टा लामो मिटिङ गराएको भन्नेबाहेक उनीसँग राजनीतिक कानुनी पृष्ठभूमि पनि छैन ।
उनी जनप्रतिनिधिसमेत होइनन् भने संविधान संशोधनजस्तो जटिल विषयमा व्यापक तयारी र छलफल गर्नुपर्ने तथा सहमति जुटाउनु पर्नेमा यो कतै तयारी भइसकेको र असिम शाहजस्ता कानुन र संविधानको ज्ञान नभएकाहरुलाई बाहिर देखाएर भित्र अर्कै खिचडी पाकिरहेको त होइन भन्ने आशंका उब्जिएको छ ।
दुई दुईवटा संविधानसभा निर्वाचन गरेर बनाएको संविधान संशोधन जस्तो महत्वपूर्ण र दीर्घकालीन असर गर्ने विषयमा किन खेलाँची गरेको हो भन्ने आमजनताले प्रश्न गर्न थालेका छन् । असिम शाहको नेतृत्वलाई अन्य दलले स्वीकार गर्लान् वा नगर्लान् त्यो एक दुई दिनमै थाहा हुनेछ ।












प्रतिक्रिया