काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको सोमबार बोलाइएको भेलामा नेताहरूको न्यून उपस्थिति रहेको छ । पूर्वउपसभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाको अग्रसरतामा डाकिएको भेलामा देउवा समूहका सिनियर नेताबाहेक अरुको खासै उपस्थिति देखिएन ।
सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरे । उनले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताए ।
‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘संख्याको हिसाबले हामी कम भए पनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’
शेखर कोइरालाले भने छुट्टै भेला र छलफलको अभ्यास कांग्रेसमा पहिले पनि निरन्तर रहिआएको बताए । ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै अभ्यास हो, अहिले पनि गरिरहेका छौँ,’ उनले भने, ‘तपाईहरूसँग सधैँ यस्तो भेटघाट र छलफल भइरहनेछ ।’ संसद्मा भइरहेका गतिविधिबारे जानकारी लिन र बाहिर रहेका नेताहरूसँग समन्वय गर्न यस्ता भेला आवश्यक रहेको उनको भनाइ थियो।
‘संसद्मा के भइरहेको छ, कसरी अगाडि बढ्ने ? हामीमध्ये धेरै साथीहरू संसद् बाहिर छौँ,’ कोइरालाले भने, ‘त्यसैले तपाईहरूले यस्ता विषयमा ध्यान दिएर छलफल गर्नुहोस् ।’
नवनिर्वाचित सांसदहरूलाई उनले संसद् बाहिर रहेका वरिष्ठ नेताहरूसँग नियमित सरसल्लाह र सुझाव लिन आग्रह गरे ।
देउवा समूहले सोमबार पनि यही होटलमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । तर आज उपस्थित नेताहरूको संख्या हेर्दा भोलि पनि उत्साहजनक सहभागिता नरहने अनुमान गरिएको छ । समानान्तर गतिविधि गरेको आरोपमा कांग्रेसले अनुशसनको कारबाही चलाउने तयारी गरेको छ । त्यसका लागि चैत १८ गते अनुशासन समितिको बैठक बोलाइएको छ ।












प्रतिक्रिया