काठमाडौं । एमाले संसदीय दलको बैठक जारी छ । आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । बिहीबारदेखि संसदको अधिवेशन सुरु हुँदैछ । त्यसअघि एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने तयारी गरेको हो । पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसिरहेको हो ।
बैठकमा निर्वाचनमा पराजित भएका पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन् । पौडेल र पोखरेल दुवै दलको नेता आफ्नो पक्षको बनाउन बैठकमा सहभागी भएको नेताहरुको बुझाइ छ । जारी एमाले बैठकमा दलको नेतामा सुहाङ नेम्वाङले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
‘पार्टीको विधि पद्धती र वरीयताको विषयमा म जानकार छु र सम्मान पनि गर्छु, तर अहिले देशमा उत्पन्न भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन,’ उनले बैठकमा भने, ‘देशको परिस्थिति कस्तो छ भनेर सदन र सदन बाहिरको अवस्थालाई हेरेर हामी बुझ्न सक्नुपर्छ।’ सुहाङले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए।
‘मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,’ उनले भने, ‘अहिलेको जनभावना र आवश्यकता अनुसार तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई पनि अवलम्बन गर्ने हुँदा संसदीय दल नेतामा म आफ्नो इच्छा व्यक्त गर्दछु।’ सुहाङ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए।
प्रतिनिधिसभामा एमालेका २५ जना सांसद छन्। सुहाङले दलको नेता दाबी गरेपछि एमालेमा हलचल मच्चिएको छ । दल नेतामा समानुपातिकतर्फबाट सांसद भएका रामबहादुर थापा बादल, पद्मा अर्याल, गुरु बराल पनि आकांक्षी छन्। सुहाङ स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा छन् । यदि निर्वाचनबाट नेता चयन हुने अवस्था आएमा सुहाङले बाजी मार्ने बताइन्छ ।












प्रतिक्रिया