काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र मालती मंगलेको दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउत रोमान्टिक अवतारमा देखिएका छन्।
गीतको भिडियोको विशेष आकर्षण भने बलिउड चलचित्र मोहब्बतेमा शाहरुख खान र काजोलको लुकमा विजय र वर्षाले प्रस्तुत गरेको नृत्य हो। निर्माता ढकालका अनुसार कथामा वर्षाको पात्रले विजयमा शाहरुखको झल्को देख्ने भएकाले गीतमा त्यसैको सृजनात्मक प्रस्तुति गरिएको हो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस डान्सिङ नम्बरमा स्वयं रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको युगल स्वर रहेको छ। गीतमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ। भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने कोरियोग्राफी रोशन बिकले गरेका छन्।
यसअघि चलचित्रको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भइसकेको छ। चलचित्रको नामले धेरैलाई माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटक सम्झाए पनि निर्माता ढकालले यो पूर्णतः समकालीन नेपाली समाजमा आधारित फरक साङ्गीतिक प्रेमकथा भएको बताएका छन्।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यो चलचित्रको कथा स्वयं निर्देशकले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका छन्। कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
छायाङ्कन महेश पौडेलले गरेका छन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल र थिएटर वितरक आरआर फिल्म्स रहेका छन्।
सशक्त साङ्गीतिक प्रस्तुति र फरक कथावस्तुका कारण वैशाख २५ गते प्रदर्शनमा आउने यस चलचित्रप्रति दर्शकमाझ उत्साह बढ्दो छ।












प्रतिक्रिया