काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारमा प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोज पत्रकार, लेखक तथा लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम शुक्रबार उहाँ उक्त पदमा नियुक्त हुनुभएको हो। करिब दुई दशकदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले सोही दिनदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ।
अब उहाँले प्रधानमन्त्री शाहको सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा उहाँको लामो पत्रकारिता अनुभवलाई सरकारको मूलधारमा जोड्ने उद्देश्यले नियुक्ति गरिएको जनाइएको छ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन माध्यममा २० वर्षभन्दा बढीको अनुभव रहेको छ। पछिल्लो समय उहाँ उकालो डट कम मा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो।
यसैगरी, पद्यमकन्या बहुमुखी क्याम्पस मा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आउनुभएकी दाहाल सञ्चार सीप र ‘अथेन्टिक लिडरसिप’ सम्बन्धी प्रशिक्षकसमेत हुनुहुन्छ।
उहाँ ‘कोभिडः नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखिका पनि हुनुहुन्छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ।












प्रतिक्रिया