सरकारले लेखापढी व्यवसायीलाई बिचौलिया भनेपछि पेनडाउन


काठमाडौं । लेखापढी व्यवसायीलाई सरकारले बिचौलिया भनेपछि उनीहरू आन्दोलित भएका छन् । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको भन्दै लेखापढी व्यवसायी आन्दोलित भएका हुन् ।

लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरू सोमबरदेखि आन्दोलनमा उत्रिएका हुन् ।
एसोसिएसनले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरबाट बिचौलियाको निराधार आरोपमा गिरफ्तार गरिएको भन्दै सो कार्यको भर्त्सना गरेको छ । आधार र प्रमाणबिना व्यवसायीलाई आरोप लगाइएको एसोसिएसनको भनाइ छ ।

मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीलाई आइतबार धरपकड गरी प्रहरी परिसर जावलाखेल पुर्‍याइएको विज्ञप्तिमा जनाइएको छ । पक्राउ गरिएका लेखापढी व्यवसायी छुटिसकेका छन् ।

एसोसिएसनका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, पक्राउ परेका व्यक्तिहरू नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायीसम्बन्धी नियमावली २०५१ बमोजिम आधिकारिक प्रमाणपत्र प्राप्त व्यवसायी हुन्।

‘कानुनी रूपमा भूसेवा केन्द्र सञ्चालनको अनुमति लिएर सेवा दिइरहेका व्यवसायीहरूलाई बिना आधार बिचौलिया भनी अपमानजनक ढंगले पक्राउ गरिनु पेशागत मर्यादा र संवैधानिक अधिकारमाथिको प्रहार हो। प्रहरी हस्तक्षेपको विरोधमा समितिले तत्कालका लागि सम्पूर्ण लेखापढी व्यवसायीहरूलाई तत्काल काम रोक्न निर्देशन दिइएको छ।

समितिले अनलाइनमार्फत गरिने भूसेवा सञ्चालनका कार्यहरूसमेत पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ। समितिको निर्णयविपरीत कसैले व्यक्तिगत रूपमा सेवा सुचारु गरेमा संस्थाको विधानबमोजिम कारबाही गरिने र कुनै पनि सहयोग उपलब्ध नगराइने चेतावनी दिइएको छ। एसोसिएसनले आफ्ना सदस्यहरूको पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी नहुन्जेल आन्दोलन जारी रहने बताएको छ।