काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका छन् । स्वास्थ्य उपचारका लागि हाल विदेशमा रहेका देउवाले आफू र श्रीमती आरजुविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै त्यसबारे प्रतिक्रिया दिएका छन् ।
देउवाले आफ्नो जीवन खुला किताब जस्तै भएको भन्दै अझै उपचारको क्रम जारी रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने दाबी गरेका छन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु,’ उनले भनेका छन् । देउवाले आफ्नो सिंगो जीवन संघर्षमै बितेको भन्दै आफ्नै पालामा अख्तियार ऐन र भ्रष्टाचार निवारण ऐन लागू भएको स्मरण गराएका छन् ।
‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यतित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ,’ उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’ सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न भन्दै देउवा दम्पतीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।












प्रतिक्रिया