संसद् बैठकमै रास्वपा सांसदले ओलीलाई अपराधीको संज्ञा दिएपछि…


काठमाडौं । रास्वपा सांसदले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई अपराधीको संज्ञा दिएपछि बबाल भएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले ओलीलाई ‘अपराधी’को संज्ञा दिएका हुन् । अस्पतालको बेडमा रहेका ओलीले संसदमा ‘कुविचार’ प्रवाह गरिरहेको उनले आरोप लगाए ।

एमाले सांसदहरूले प्रतिनिधिसभाको पहिलो दिन चैत १९ देखि नै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोध गरिरहेका छन् । यादवले ओली अस्पतालमा नभई कारागारमा हुनुपर्ने बताए । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यही भूतले आज कमरेड बादललाई छलेको देखिन्छ ।

त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले भने, ‘किनकी आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।’ सांसद यादवले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन न्याय, समानता र अधिकारका लागि भएको बताए ।

‘म आज यो सम्मानित सदनमा स्पष्ट भन्न चाहन्छु जेनजी आन्दोलन किन भएको थियो, यो आन्दोलनको माग न्याय, समानता र अधिकार कसैले कहिले पनि बिर्सिनु हुँदैन ।

यो सरकार त्यही रक्तरञ्जित आन्दोलनको बलिदानमाथि बनेको हो,’ उनले प्रश्न गरे, ‘कहिले जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ ? र, कहिले मृतक परिवारले न्याय पाउँछ ?’ लगत्तै एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले आफ्नो बोल्ने पालोमा यादवको अभिव्यक्तिको प्रतिवाद गरिन् । ‘एक माननीयले मेरो पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री सम्माननीय नेता केपी ओलीलाई गरेको तुच्छ व्यवहार घोर आपत्ति व्यक्त गर्दछु । यो अभिव्यक्ति अभिलेखबाट हटाइयोस्,’ उनले भनिन् ।