उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई


काठमाडौँ । उपसभामुख पदको निर्वाचनका लागि आज निर्वाचन हुँदैछ । बिहीबार बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । संसद् सचिवालयस्थित काठघर नम्बर २ मा मनोनयन दर्ताको कार्यालय राखिएको छ । सभामुखमा रास्वपाबाट डीपी अर्याल चैत २२ मा निर्वाचित भइसकेका छन् भने उपसभामुखको निर्वाचन चैत २७ गते ४ बजेको बैठकमा हुनेछ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्नेछ ।

सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्नेछ । पुरुष सभामुख निर्वाचित भइसकेकाले उपसभामुख महिला हुनुपर्नेछ । उपसभामुखमा श्रम संस्कृति पार्टीले मनोनयनपत्र लिइसकेको छ । कांग्रेस र एमाले भने उम्मेदवारी दिने नदिनेबारे छलफलमै छन् । आफूले चाहेको उम्मेदवार जिताउन सक्ने सिट संख्या नभएकाले कांग्रेस र एमालेले श्रम संस्कृतिलाई समर्थन गर्ने बताइन्छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई उपसभामुख बनाउने भन्नेबारे निर्णय गरिसकेको छैन ।

स्रोतका अनुसार रास्वपाले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्न सक्ने सम्भावना धेरै छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले यस्तो संकेत गरिसकेका छन् । तर रास्वपा सभापति रवि लामिछाने भने राप्रपालाई उपसभामुख दिनुपर्ने पक्षमा छन् । राप्रपाले उपसभामुख पाएमा खुश्बु ओली बन्ने सम्भावना प्रबल छ । श्रम संस्कृतिबाट रुवि कुमारी उपसभामुखको उम्मेदवार बन्नेछिन् ।