कांग्रेस विवाद आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद नटुंगिदासम्म १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा पेस भएको रिटमा सुनुवाइ हुन लागेको हो ।

देउवा पक्षधरहरुले दर्ता गरेको निवेदनमाथि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ । शेरबहादुर देउवा पक्षले महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गरेका हुन् । उनीहरुले छुट्टै रिट निवेदन नभई यसअघि पेस भएको विवादमा पूरक निवेदन दर्ता गरेका हुन् ।

उनीहरुले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिका बीच विशेष महाधिवेशन गरेर चयन गरिएको नयाँ कार्यसमितिलाई मान्यता दिन नहुने माग गरेका थिए । गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध उनीहरु सर्वोच्च पुगेका हुन् ।

आयोगको निर्णयविरूद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमै विचाराधीन भएको स्मरण गराउँदै उनीहरुले मुद्दा विचाराधीन रहेकै अवस्थामा एकतर्फीरूपमा महाधिवेशनको प्रक्रिया अगाडि बढाउन नहुने जिकिर गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएको केन्द्रीय कार्यसमितिले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति तोकेर क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणका लागि १ वैशाखदेखि एक महिने जरामा जाऊँ अभियान सञ्चालनको तयारी गरेको छ ।