काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी राख्ने बताएका छन् । हाजिरी जमानीमा बिहीबार प्रहरी हिरासतबाट मुक्त भएका लेखकले शुक्रबा सामाजिक सञ्जालमार्फत १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराएका छन्। अब बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहेको भन्दै उनले हिरासत बसाइका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
यस क्रममा लेखकले जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अप्रमाणित भएको आरोप पनि लगाएका छन् । ‘गत भदौ २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, लेखकले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु ।’ लेखकले अदालतको आदेशप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
‘साथै परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीीतक लडाइँ जारी रहनेछ,’ उनले भनेका छन् । बिहीबार नै रिहा भएका एमाले अध्यक्ष केपी ओलीले पनि जाँचबुझ आयोगको प्रतिवेदन अप्रमाणित र आधारहीन भएको दाबी गरेका थिए । उनले आफूलाई सरकारले १३ दिन गैरकानुनी नियन्त्रणमा राखेको भन्दै आपत्ति जनाएका थिए ।












प्रतिक्रिया